संसद अधिवेशन पर्खने समय थिएन्, त्यसैले अध्यादेश ल्याइयो: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुटहुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग नभएर अध्यादेश ल्याएको बताउनुभएकाे छ ।
शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अध्यादेशबारे धेरै प्रश्न उठिरहेको भन्दै संसदको नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तीमा ढिला हुने अवस्था देखिएको भन्दै यस्तै बेलामा नै सरकारले अध्यादेश ल्याउने स्पष्टिकरण दिनुभयाे ।
उहाँले भन्नुभयाे, ’जनताले कहाँ कहाँ, कुन कुन कानुनको अल्झनले दुःख पाइरहेका छन् । ती अल्झन र गाँठाहरु तत्काल फुकाउन कानुनी सुधार नै पहिलो पाइला थियो । नियमित प्रकृयाबाट कानुन पारित गरी लागू गर्न न्यूनतम ५–६ महिना लाग्ने सबैलाई थाहा छ । एकातिर प्रकृया र र अर्कोतिर नतिजा सुधारको जुन हुटहुटीले संसदको दुई ठूला दलहरुको नेतृत्वमा सरकार निर्माण भयो । त्यसले संसदको अधिवेशन आउँदै छ, पर्खनुहोस् भन्ने समय हामीसँग थिएन् । संसद नभएको बेला संसदको नियमित प्रकृयाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था छ यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने ।’
त्यस्तै उहाँले सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाँदा जनताको दैनिक समस्या ओझेलमा पर्ने बताए । एउटै गन्तव्यकालागि जनताले छानेर यहाँ पुर्याएको भन्दै उनले संसदमा पो पक्ष वा विपक्ष त देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? भन्दै प्रश्न गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘हामी सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाईन्छ र जनताको दैनिक समस्या ओझेलमा पर्छन् । संसद छलेर किन अध्यादेश ल्याएको भनेर सोध्नेहरुलाई सबै कुरा थाहा छ । अध्यादेश ल्याउने भनेको नै संसद नचलेको बेलामा नै हो । संविधानले नै त्यही व्यवस्था गरेको छ होईन् र ?हामी संसदमा पो पक्ष विपक्ष हो त । देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? एउटै गन्तव्यकालागि जनताले छलेर हामीलाई यहाँ पुर्याएका छन् ।’

