सुदूरपश्चिममा गौरापर्व मनाइँदै
नेपालकाे पश्चिम क्षेत्रकाे महत्वपूर्ण गाैरा पर्व आज मनाइँदैछ । सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाउन लागिएकाे हाे ।
हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहेकाे छ ।
बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्दछन् । हिजाे गौरादेवीमा मन्त्र गरी चढाएको दुबधागो पनि आजै महिलाहरूले धारण गर्दछन् ।
गौराघरबाट गौरालाई सिङ्गारेर नजिकैकाे गाेलामा लग्ने र महिलाहरूले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ ।
बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दछन् ।
यस पर्वमा पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् ।
गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ ।

