निपाह भाइरसको असर सम्बन्धमा सचेत छाैंः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसका कारण नागरिक स्वास्थ्यमा पर्न सक्ने असर सम्बन्धमा सचेत रहेकाे उल्लेख गरेकाे छ । मन्त्रालयले साेमबार विज्ञप्ति जारी गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको हाे ।

भारत लगायत दक्षिण एशियाली मुलुकमा निपाह भाइरसको संक्रमण फैलिरहेकाे सन्दर्भमा जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले जनाएकाे छ ।

संक्रमण फैलन नदिन र राेकथाम तथा थप उपचारका लागि लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतंकित नहुन र सचेत, सजग र जिम्मेवार बन्न मन्त्रालयले अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्यांकन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी आवश्यक सचेतना अपनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकाल तथा विपद् व्यवस्थापन शाखाले पूर्वतयारीका कदम स्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षणका आवश्यक तयारी गरिएको स्पष्ट पारेकाे छ ।

निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।

Facebook Comments