मकवानपुरमा जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ जिप दुर्घटना भएकाे छ । साे जिप दुर्घटनामा ६ जनाकाे मृत्यु भएकामा ४ जनाको पहिचान खुलेको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये सोमबार बिहानसम्म दुई जना नेपाली र दुई जना भारतीय नागरिक ४ जनाको पहिचान खुलेको हो।

प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ कान्ति राजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनिस कुमार र बेगुसराईका अन्जाजी ५० वर्षीय अरबिन्द कुमारको पहिचान भएको छ ।

बाँकी दुई पुरूषको भने पहिचान खुल्न बाँकी छ । उनीहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ।

आइतबार साँझ साढे ५ बजे जुरेखेतस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडक खण्डमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

३ जना घाइतेमा जिपका चालक हेटौंडा-४ कर्राचोकका ४० वर्षीय गणेश थापा,  हेटौंडा-४ कमलडाँडाका १२ वर्षीय अभ्यास लम्साल र रौतहटको चन्द्रपुर नगरपालिका-२ का २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

जीप चालक थापा र लम्साललाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ भने चौधरीको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ।

Facebook Comments