बैतडीमा बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएकाे छ ।
डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
बझाङको बित्थडचीर गाउँपालिका –७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दिपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङको केदारस्युँ गाउँपालिका ६ का २७ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौंडी ७ का १४ वर्षीय सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि ६ जनाको घटनास्थलमै र दुई जनाको कोटिला स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० बर्षीया पुष्पा अवस्थी रहेका छन् ।

बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनाको धनगढीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चार जनाको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ ।
दुर्घटनाको यकिन कारण खुल्न नसकेको भएपनि उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका –७ का विरेन्द्र बुढालाई सामान्य घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बेहुलाबेहुली अर्को जिपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ ।

