गण्डकी प्रज्ञा प्रतिष्ठानमा ‘न्यूरो आर्ट’ कार्यशाला
भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै
पोखरा २० साउन । गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य Neuro Art कार्यशाला’ आयोजना गरेको छ ।
कार्यशालामा मुख्य प्रशिक्षक डा. निर्मल लामिछानेले सहजीकरण गर्नुभएकाे थियाे भने गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्याउने प्रभावकारी माध्यम भएको बताउनुभयाे ।
उहाँले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य सुदृढ बनाउन, सिर्जनशीलता अभिवृद्धि गर्न र व्यक्तिको आत्मविश्वास बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयाे । प्रतिभाको विकास, संस्कृति संरक्षण तथा सृजनात्मक समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै मन्त्रालयबाट आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयाे ।
कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति प्रा. डा. कुशुमाकर न्यौपानेले प्रतिष्ठानले अब भाषिक शुद्धता अभियानलाई प्राथमिकतामा राख्ने जानकारी दिनुभयाे ।
उहाँले विद्यालयका शिक्षक, प्राध्यापक, पत्रकार तथा लेखनसँग सम्बन्धित सबै वर्गमा भाषिक सचेतनाको कमीका कारण आमजनताले दुःख पाएको उल्लेख गर्दै त्यसलाई सुधार गर्न प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयाे ।
कुलपति न्यौपानेले अनुसन्धानलाई पनि प्रतिष्ठानले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै अनुसन्धानकर्तालाई आवश्यक तालिमबिना फिल्डमा पठाउन नहुने धारणा राख्नुभयाे ।

