आजदेखि तिहार सुरु
तिहारको पहिलो दिन आज कागको पूजा गरिंदै
नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई मनपर्ने खानेकुरा दिएर पूजा गर्ने परम्परा रहेको छ।
बिहान सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मान्यता रहेकाे छ । धार्मिक मान्यता अनुसार बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र सूर्योदयकालमा त्रयोदशी परेका दिन काग तिहार मनाइन्छ। आज नै धनवन्तरी जयन्ती पनि मनाइँदै छ।
यस वर्ष तिथिको घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा तथा कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा गरिनेछ।
यमपञ्चकको मुख्य दिन भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।

