सरकार र अनसनरत डा. गोविन्द केसीवीच सहमति
नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएपछि केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएकाे छ ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरेपछि डा. केसीको अनसन तोड्न राजी हुनुभएकाे हाे ।
अनसन तोडिएपछि मन्त्री पोखरेलले यो डा. केसीको अन्तिम अनसन हुने बताउँदै सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । स्वास्थ्य तथा शिक्षा क्षेत्रका मुद्दामा केसीले पटक पटक सत्याग्रह लगायतकाे संघर्ष गर्दै आउनुभएकाे छ ।
सहमतिपत्रमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
सहमतिपत्रमा विगतमा भएका सहमति अक्षरश पालना गर्ने लगायतका बिषय समावेश छन् । त्यस्तै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयकाे अनुमतिपत्र तथा सिट संख्या, अन्य मेडिकल कलेजका अनुमति र सिट संख्या मापदण्ड बमाेजिम भए नभएकाे बारे छानविन गर्ने लगायतका विषय समावेश छन् ।



