कांग्रेसको विशेष महाधिवेशन आज, सभापति सहितका अधिकांश पदाधिकारीहरू पक्ष सहभागी नहुने
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरू हुँदैछ।
सभापति शेरबहादुर देउवासहित अधिकांश संस्थापन पक्षका नेताहरूको विरोधबीच महाधिवेशन हुन लागेकाे हाे ।
यसअगाडि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर सहित पार्टी केन्द्रमा विशेष महाधिवेशनकाे माग गरेका थिए ।
महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले साेही माग बमाेजिम सहजीकरण गर्दै कांग्रेसको विशेष महाधिवेशन आयाेजना गर्नुभएकाे हाे । आजदेखि विशेष महाधिवेशन सुरू हुने र भोलिसम्म चल्नेछ।
आज विभिन्न क्षेत्रबाट निस्केको र्याली भृकुटीमण्डप पुगेपछि दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुनेछ। विशेष महाधिवेशन पक्षधरले सभापति देउवालाई प्रमुख अतिथिका रूपमा निम्तो गरेका छन् तर सभापति देउवा सहभागी हुने संभावना अत्यन्तै कम छ ।
विशेष महाधिवेशनका पक्षधर प्रतिनिधिहरू भने काठमाडौं आइसकेका छन्।
विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ।
भृकृटीमण्डपमा शनिबार भएको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको दाबी गरिएको हो।
विशेष महाधिवेशनको माग गर्दा असोज २९ गते ५४.५८ प्रतिशतले हस्ताक्षर गरेका थिए। त्यो संख्या बढ्दो रहेको उनीहरूको भनाइ छ।

