जनतका अधिकार खाेस्नेतर्फ लागेमा प्रतिवादः प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गरेर जनताका अधिकार खोस्ने काम भए सडक र सदनबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएकाे छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले गरेकाे कार्यक्रममा बाेल्दै प्रचण्डले संविधान संशाेधनका नाममा जनताका अधिकार खाेस्ने कार्य गर्न खाेजेमा प्रतिवाद गर्ने बताउनुभएकाे हेा ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वकाे सरकारले गर्ने रचनात्मक र सकारात्मक काममा सकारात्मक रूपमा हेर्ने तर संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं ।’ प्रचण्डकाे भनाई थियाे ।
संविधान संशोधन गर्दा संघीयतालाई अझ बलियो बनाउन हुनुपर्ने प्रचण्डकाे धारणा थियाे ।
सम्पति छानविन आफ्नै एजेण्डा भएकाे प्रचण्डकाे दाबी
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आफू कुनैपनि प्रकारको छानबिनका लागि तयार रहेको बताउनुभएकाे छ ।
साथै सार्वजनिक पद धारण गरेका उच्च पदस्थहरूकाे सम्पत्ति छानविन गर्ने एजेण्डा विगतमा आफ्नो कार्यकालमा उठाएकाे समेत उहाँले स्मरण गर्नुभयाे ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले विगतका निर्णयहरूको जिम्मेवारी लिन आफू तयार रहेको स्पष्ट पार्नुभयाे ।
आफूमाथि हुने सबै छानबिका लागि आफू तयार रहेको उहाँकाे भनाई छ । आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू नडराउने उहाँकाे जिकिर थियाे ।

