किर्तिपुरस्थित सुकुम्बासी राखिएकाे होल्डिङ सेन्टरमा बाढी

अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। सेन्टरभित्र पानी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू पुनः विस्थापित हुनुपरेकाे छ ।

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको छ ।

उक्त स्थानमा आश्रय लिएका पीडितहरूले राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न नपाएकाे बताए ।

सुरक्षाकर्मी राति करिब २ बजेपछि मात्रै घटनास्थल पुगेर केहीलाइ उद्दार गरेका थिए ।

राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका थप ३० जनाको संयुक्त टोली परिचालन गरी उद्धार गरिएकाे गृहमन्त्रालयले जनाएकाे छ ।

उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ।

अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।

हाल घटनास्थलमा सम्बन्धित विषयगत क्लस्टरहरू सक्रिय भई प्रभावितहरूका लागि खाना, खानेपानी तथा अन्य आवश्यक राहत सामग्रीको व्यवस्थापन भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि भने सूचना जारी गरेर हाेल्डिङ सेन्टर खाली गर्न भनिएकाे थियाे । विना व्यवस्थापन हाेल्डिङ सेन्टर खाली गर्न भनिएपछि आश्रय लिएकाहरू भने असन्तुष्ट भएका छन् ।

Facebook Comments