गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनका लागि उम्मेदवारहरूकाे नामावली सार्वजनिक
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन हुँदैछ । एनआरएनएकाे १२औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको छ ।
बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार संस्थाको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदका लागि रोविनप्रसाद शेरचन (जापान), डा. हेमराज शर्मा (यूके) र रविनराज बज्राचार्य (अमेरिका) ले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, महासचिवका लागि चिरञ्जीवी खड्का (चेक रिपब्लिक) र रामशरण सिम्खडा (यूके) चुनावी मैदानमा उत्रिएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीअनुसार ६ जना उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षका आकांक्षीहरूमा ददिबल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बानियाँ, रोजिना प्रधान राई र रोशन थापा रहेका छन् ।
यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ भने युवा उपाध्यक्षमा भीमसेन थापा, मदनराज पौडेल र ओमान गौचनबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिव पदका लागि ८ जना, कोषाध्यक्षमा २ जना र सह-कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। यसका साथै विभिन्न क्षेत्रीय संयोजक र उपसंयोजक पदहरूमा पनि मनोनयन दर्ता भएको छ ।
एनआरएनएको महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
निर्वाचन आयुक्त तेज बहादुर कार्कीका अनुसार संस्थाको निर्वाचन नियमावली २०२१ बमोजिम उम्मेदवारहरूको विवरण प्रकाशित गरिएको हो। यो सूची सार्वजनिक भएपनि नेतृत्वका लागि सहमतिको प्रयास समेत भइरहेको बताइएको छ ।

