नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्यकाे संकल्प गर्ने दिनः राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएकाे छ ।

नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले लक्ष्य हाँसिल गर्न सङ्कल्प र साधना आवश्यक पर्ने र निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताउनुभएकाे छ ।

‘हामी नेपालीले नववर्षलाई विशेष दिन मानी विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यका लागि प्रतिज्ञा र सङ्कल्प गर्ने शुभसाइतका रूपमा लिँदै आएका छौँ,’ उहाँले सन्देशमा भन्नुभएकाे छ, ‘विशेष पर्व र दिनमा जीवनका लक्ष्य निर्धारण गर्ने र त्यसलाई पूरा गर्न सङ्कल्पबद्ध रहने हाम्रो परम्परा रहिआएको छ ।’

राष्ट्रपति पौडेलले हालै मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई मुलुकमा उत्पन्न विषम परिस्थितिले निकास पाएको समेत उल्लेख गर्नुभएकाे छ । 

Facebook Comments