माैसमः कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षा हुने

पछिल्लो २४ घण्टामा लमजुङ जिल्लाको गिलुङमा सबैभन्दा धेरै वर्षा

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा लमजुङ जिल्लाको गिलुङमा १७९.२ मिलिमिटर भएको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा पानी परेको छ ।

साथै अन्य प्रदेशको पनि धेरै ठाउँमा पानी परेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी तथा थोरै ठाउँमा धेरै भारि पानी परेको पनि महाशाखाले उल्लेख गरेकाे छ ।

महाशाखाले कर्णाली र सुदुरपश्चिम प्रदेशमा पनि थोरै ठाउँमा धेरै भारि पानी परेको छ र अझै पानी परिरहेको तथा उक्त प्रणाली पश्चिमतर्फ सरिरहेकोले कर्णाली र सुदूरपश्चिम प्रदेशमा थप पानी पर्ने सम्भावना रहेकोले सचेत हुन अनुराेध गरेकाे छ ।

महाशाखाका अनुसार शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  हिमाली र पहाडी भू-भागका धेरै स्थान कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थान, मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केहि स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू-भागका थोरै स्थान साथै बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई  स्थानमा भारी वर्षा, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाे जनाएकाे छ ।

शुक्रबार राती देशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments