संयुक्त अरब इमिरेट्सकाे हवाई क्षेत्र बन्द
संयुक्त अरब इमिरेट्स (यूएई)ले इजरायल – अमेरिका र इरान युद्धका कारण मिसाइल तथा ड्राेन आक्रमण हुन सक्ने भन्दै आफ्नाे हवाई क्षेत्र बन्द गरेकाे छ ।
इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बन्द गरिएको यूएई सरकारले जनाएको छ ।
यूएइको नागरिक उड्डयन प्राधिकरणले यो बन्द अस्थायी भएको बताएको छ । इतिहाद र एमिरेट्स एयरलाइन्सले भर्खरै आफ्ना केही उडानहरू पुनः सुरु गरेको समयमा यस्तो निर्णय भएको हो ।
व्यावसायिक उडानहरूलाई असर गर्ने अघिल्लो हवाई क्षेत्र प्रतिबन्ध फुकुवा भएको केही घण्टाभित्रै पुनः यूएईको हवाई क्षेत्र बन्द गरिएको हो ।

यसअघि इरानले गरेकाे मिसाइल र ड्रोन आक्रमणका कारण हालसम्म यूएईमा कम्तीमा सातजनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयका अनुसार मारिनेहरूमा दुई सैनिक र पाँच सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन् ।
साथै यूएई सुरक्षा बलले सयाैंकाे संखयामा मिसाइल र ड्राेन नष्ट पारेकाे जनाएकाे छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा यूएई सुरक्षा बलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेकाे हाे ।
सोमबार पनि ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रहार हुँदा अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्याएको बताइएको छ ।

