रास्वपा सांसदहरूकाे अभिमुखीकरण आज सकिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणकाे दाेस्राे दिन याेग ध्यान कक्षासँगै सुरू भएकाे छ । आज सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने बताइएकाे छ ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे ।

आज पूर्वसचिव डा. तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया : योजना तथा बजेट निर्माणबारे, पूर्वसचिव प्रताप कुमार पाठकले ‘सुशासन : अवधारणा र अभ्यास’ सम्बन्धमा अभिमुखीकरण गर्ने बताइएकाे छ ।
पार्टी र सांसदको सम्बन्ध : नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिबद्धता लगायतका बिषयमा पार्टी महामन्त्री बुर्लाकाेटीकाे प्रस्तुति समावेश छ ।

दिवा खाना अगाडि नै सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकताबारे मन्तव्य राख्ने र कार्यक्रम समापन गर्ने कार्यतालिका छ ।
महामन्त्री बुर्लाकोटीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाह आजको समापन समारोहमा सहभागी हुने बताएपनि शाहले सम्बाेधन गर्ने या नगर्ने केही खुलाइएकाे छैन ।
अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् । दुवै नेता स्वास्थ्यकाे कारण सहभागी नभएकाे बताइएकाे छ ।

