माैसमः पश्चिमी वायुको प्रभाव, पश्चिमी भूभागमा वर्षा र हिमाली भेगमा हिउँ पर्ने संभावना

हाल मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्नेछ ।

सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ।

महाशाखाले आज शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु हुने र साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाएकाे छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने संभावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।

साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित असिना पर्ने सम्भावना समेत रहेकाे छ ।

महाशाखाका अनुसार शुक्रबार राति भने देशैभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मध्यमसम्म हिमपातको सम्भावना छ ।

शनिबार मौसममा सुधार भएपनि चिसो भने बढ्ने महाशाखाले उल्लेख गरेकाे छ ।

यो यस वर्षको हिउँदयामको पहिलो माघे झरी हो र मंगलबार पुनः झरी पर्ने संभावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments