अमेरिकामा भीषण हिमपात, जनजीवन अस्तव्यस्त

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा सोमबार आएको भीषण हिमपात(हिमआँधी)ले जनजीवन अस्तव्यस्त बनाएको छ । हिमपातका सार्वजनिक यातायात ठप्प भएका कारण लाखौँ मानिस प्रभावित भएका छन् भने हजारौँ हवाइ उडानहरू रद्द गरिएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार सडक आवागमनमा राेक लगाइएकाे छ । न्युयोर्कका सरकारी निकायहरूले यात्रा गर्नै नसकिने स्थिति रहेको भन्दै चेतावनी जारी गरेका छन्। हिमपातका कारण न्यु जर्सी र म्यासाचुसेट्समा सबैभन्दा बढी प्रभाव परेको छ, जहाँ ६ लाखभन्दा बढी घर र व्यवसायहरूमा विद्युत् आपूर्ति बन्द भएको छ।

न्युयोर्कदेखि म्यासाचुसेट्ससम्मका क्षेत्रहरू हिउँको बाक्लो तहले ढाकिएका छन्, जसले गर्दा सडक, हवाई र विद्युत् सेवा पूर्ण रूपमा प्रभावित भएको छ। राष्ट्रिय मौसम सेवाका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा झण्डै ३३ इन्चसम्म हिउँ जमेको छ।

न्युयोर्कको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ।

यो हिमपातले ४८ वर्षअघिको ऐतिहासिक रेकर्ड समेत ताेडिएकाे छ। रोड आइल्याण्डको राजधानी प्रोभिडेन्समा सन् १९७८ को फेब्रुअरीमा कायम भएको २८.६ इन्च हिउँको रेकर्डलाई उछिन्दै यस पटक ३३ इन्च हिउँ परेको छ। मौसमविद्हरूले यो अवस्थालाई सोचेभन्दा निकै भयावह र अनपेक्षित भनेका छन्।

हिउँको थुप्रोका कारण सडकमा गुडिरहेका सयौँ सवारी साधनहरू बिचैमा फसेका छन् भने हिउँ पन्छाउने कार्यमा अवरोध पुर्‍याउने ३०० भन्दा बढी गाडीहरूलाई प्रहरीले तानेर हटाउनुपरेको छ। स्थानीय सरकारी अधिकारीहरूले मानिसहरूलाई घरभित्रै रहन आग्रह गर्दै हिउँका कारण केही नदेखिने अवस्थाले गर्दा उद्धार कार्यमा समेत कठिनाइ भइरहेको बताएका छन् ।

Facebook Comments