नीट परीक्षा पेपर लीक प्रकरणः कडा कानुन बनाउने भारतीय प्रधानमन्त्री माेदीकाे घाेषणा
छिमेकी मुलुक भारतमा नीट परीक्षा पेपर लीक प्रकरणले सडक तात्तिएकाे छ । देशैभर विद्यार्थीहरूले प्रर्दशन गरिरहेका छन् ।
यसैवीच विहीबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गर्नुभएकाे छ ।
प्रधानमन्त्री मोदीले यस विषयमा शुक्रबार बस्ने क्याबिनेट बैठकमा छलफल गर्ने र कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गर्नका लागि प्रयास गर्ने उल्लेख गर्नुभएकाे छ ।
मोदीले पेपर लीक कुनै सामान्य विषय नभएकाे उल्लेख गर्दै लाखौं विद्यार्थी र उनीहरूका अभिभावकका लागि निकै पीडादायी रहेकाे बताउनुभएकाे छ ।
नयाँ प्रस्तावित कानुनमा प्रश्नपत्र बाहिरिने घटनामा संलग्न गिरोहलाई १० वर्षसम्मको जेल र १ करोड भारुसम्मको जरिवाना गर्न सक्ने प्रावधान राख्ने तयारी गरिएको छ।
यो कदम गत मे ३ मा भएको नीट परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनापछि उत्पन्न आक्रोशलाई साम्य पार्न चालिएको हो ।
यस विषयलाई लिएर दिल्लीको जन्तरमन्तरमा ‘ककरोच जनता पार्टी’ ले प्रदर्शन गरिरहेको छ भने सामाजिक अभियन्ता सोनम वाङचुकले पनि अनशन बसेर प्रश्नपत्र लिक भएकाे घटनाकाे विरोध गर्नुभएकाे छ ।
सरकारले पेपर लीक प्रकरणलाई गम्भीरतापूर्वक लिँदै शिक्षा मन्त्रालयमा ठूलो प्रशासनिक फेरबदल समेत गरेको छ । बिहीबार १७ जना वरिष्ठ अधिकारीहरूको सरुवा र बढुवा गरिएको छ । प्रर्दशनमा भने शिक्षामन्त्रीकाे राजीनामा माग गरिएकाे छ ।

