सांसदहरूकाे पद तथा गोपनीयताको शपथग्रहण आज
नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजेका लागि तय गरिएकाको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएकाे थियाे ।
प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ ।
सङ्घीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ ।
सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो ।

