कक्षा १२ को परीक्षा शुरू
कक्षा १२ को परीक्षा आज सोमबारदेखि सञ्चालन हुँदै छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु भएकाे हाे ।
परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न राष्ट्रिय परीक्षा बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ । बाेर्डका अनुसार परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।
बैशाख २७ मा परीक्षा सकिने र त्यसकाे डेढ महिना (४५ दिन) भित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।
बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ परीक्षार्थी छन् । तीमध्ये १ लाख ७२ हजार १२ छात्र, १ लाख ६० हजार १ सय ३७ छात्रा र २९ जना अन्य छन् । आंशिकतर्फ ८५ हजार ८ सय ३० विद्यार्थी सहभागी हुँदै छन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुनेछन् । जापानको एभरेस्ट स्कुलबाट पनि ३९ विद्यार्थीले परीक्षा दिँदै छन् । काठमाडौं जिल्लामा सबैभन्दा धेरै ६४ हजार ३ सय ३८ र मनाङमा सबैभन्दा थोरै ३१ परीक्षार्थी छन् ।
गत वर्षको तुलनामा परीक्षार्थीको संख्या घटेकाे छ । कक्षा १२ को परीक्षा गराउन केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४४ हजार ३ सय ४ जना परिचालन गरिएकाे छ ।

