देशैभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेका सेवा बन्द

कार्यस्थलमामै आक्रमण भएपछि सुरक्षाकाे माग गर्दै चिकित्सक तथा स्वस्थ्यकर्मीहरूकाे विराेधका कारण देशैभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प हुने भएकाे छ ।

नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको हाे ।

संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो ।

संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

साे घटनामा संलग्नहरूमाथि कडा कार्वाहीकाे माग चिकित्सक संघले गरेकाे छ ।

Facebook Comments