कर्मचारीले निर्माण व्यवसायीसँग अतिरिक्त रकम माग गरे मन्त्रीलाई सिधै जानकारी गराउन आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काेही कसैले सरकारी विकास निर्माणका कामका लागि अतिरिक्त शुल्क माग गरेमा आफूलाई जानकारी दिन आग्रह गर्नुभएकाे छ ।

मन्त्रालयकाे कार्यभार सम्हाले लगत्तै मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई कुनै पनि सरकारी अधिकारीलाई अतिरिक्त शुल्क नदिन निर्देशन दिनुभएकाे हाे ।

यदि कुनै सरकारी कर्मचारी या अन्य कसैले त्यस्तो शुल्क मागेमा प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने मन्त्री लम्सालकाे प्रतिवद्धता रहेकाे छ ।

मन्त्री लम्सालको निर्देशनपछि नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना सम्पूर्ण सदस्य संस्थाहरूलाई अतिरिक्त शुल्क माग भएमा जानकारी गराउन भन्दै एक सर्कुलर जारी गरेकाे छ ।

आइतबार मन्त्री लम्साल र महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलबिच मन्त्रालयमा छलफल भएकाे थियाे ।

समयमै गुणस्तरीय निर्माण कार्यमा अवरोध सिर्जना हुने गरी पूर्वाधार विकासको क्षेत्रमा व्यापक रूपमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो आएको सन्दर्भमा यस्ताे निर्देशन आएको महासङ्घले जनाएकाे छ ।

Facebook Comments