पुनःस्थापित संसदकाे बैठक बस्दै
सर्वाेच्च अदालतकाे आदेशपछि दाेस्राेपटक पुनर्स्थापित भएकाे प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दैछ।
मन्त्रिपरिषद् बैठककाे सिफारिस अनुसार राष्ट्रपतिले अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा राष्ट्रियसभा र प्रतिनिधिसभाकाे बैठक आह्वान गर्नुभएकाे हाे ।
सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकमा १६ वटा विधेयकहरू पेश गर्ने तयारी गरेको छ। जसमा बजेट सम्बन्धी ३ अध्यादेश समेत छन् ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका विधेयकहरू प्रतिनिधि सभामा पेश गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको थियो।
बैठककाे तयारी स्वरूप सांसदहरू, राष्ट्रिय सभा सदस्य, कर्मचारी लगायतको कोरोना परीक्षणसमेत भइसकेको छ। अहिले बिहान १० बजे कार्यव्यवस्था समितिको बैठक पनि बस्ने तयारी छ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत जेठ ८ गते संसद विघटन गरेकाे थियाे । साे विघटन विरूद्ध प्रधानमन्त्रीमा दावी गर्नुभएका शेरबहादुर देउवा लगायतका १४६ जना सांसदहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए । साे रिटमा सुनुवाइ गर्दै सर्वाेच्चले गत साेमबार संसद पुनर्स्थापनाकाे निर्णय गरेकाे थियाे ।

