मिलन पाण्डेमाथि विवेकशील साझाकाे कार्वाही
विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाइ कार्वाही गरेकाे छ । कार्वाहीबारे जानकारी दिन जारी गरिएकाे विज्ञप्तिमा भनिएकाे छ, ‘तपाईँले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ।’
पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।
विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।’
अबदेखि पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

