माओवादी केन्द्रकाे महाधिवेशनः आजदेखि बन्द सत्र
नेकपा माओवादी केन्द्रकाे आठौं महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरू हुने भएकाे छ ।
आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्द सत्र हुने माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिनुभयाे ।
बन्द सत्रमा साेमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएकाे छ। उक्त प्रतिवेदन प्रतिनिधिहरूवीच समूहगत छलफलपछि पारित गर्ने तयारी छ।
साथै विधान संशोधनलगायत विषय पनि बन्द सत्रमा छलफलका लागि पेश गर्ने नेता पाण्डेले जानकारी दिनुभयाे ।
महाधिवेशनकाे बन्द सत्रमा करिब एक हजार छ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन् ।
माओवादीको यो महाधिवेशनले नेतृत्वका लागि १५ पदाधिकारी र केन्द्रीय सदस्य गरी २९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ । विभाजन भएका पूर्व माओवादी घटकलाइ एकताका लागि पहल गर्न समेत महाधिवेशनले म्यान्डेट दिने अपेक्षा छ ।

