९ सय ६८ संक्रमित थपिए,
पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टिजेन गरी १४ हजार ९ सय ७१ परीक्षणमा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार ५ सय ४० जनामा संक्रमण पुष्टि भएकाे एकै दिन संक्रमितको संख्या ४ सय भन्दा बढी थपिएका हुन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ६२ रहेको छ ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ४१ रहेको छ ।
थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयले पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता काैशल मिश्राले जानकारी दिनुभयाे ।


