माघी पर्व मनाइँदै
माघ १ गते माघी पर्व । थारु, कुमाल, किराँत मगर लगायतका समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।
माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । माघीकै दिन थारू समुदायमा मुखिया फेर्ने चलन पनि रहेकाे छ ।
गाउँका मुखिया सबै मिलेर छनौट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गर्छ ।
थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।
यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
विशेष गरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।
विवाह, यात्रा, बसाइँ सराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।
सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।
माघी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार बिदासमेत दिएको छ । १ गते शनिबार परेकोले २ गते आइतबार बिदा दिइएको हो ।
मगर समुदायले पनि माघी पर्व हर्षाेल्लासका साथ मनाइरहेका छन् । मगर समुदायमा आजको दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ भने पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार सेवन गर्ने परम्परा रहेको छ ।अन्य समुदायले समेत माघे संक्रान्तिलाइ विशेष पर्वका रूपमा मनाउने गर्दछन् ।
मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ।
ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।
माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।
घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।
धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ ।
माघे संक्रान्तिमा तनहुँ, चितवन र नवलपरासीकाे सीमानामा पर्ने देवघाट धाम, पाेखराकाे ढुङ्गेसाँघु, काभ्रेको पनौती नगरपालिका-७ स्थित त्रिवेणीघाटमा लगायतका स्थानमा दर्शनार्थीहरू स्नानका लागि पुग्ने गर्दछन् । यस वर्ष भने काेभिड १९ काे जाेखिमका कारणा संक्रान्तिका अवसरमा लाग्ने मेला तथा पर्व भने प्रभावित भएका छन् ।

