माघी पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतकाे शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले माघीका अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ । साथै उहाँहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएकाे छ ।

माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गर्नुभएकाे हाे ।

राष्ट्रपति भण्डारीले  माघी पर्वले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको उल्लेख गर्नुभएकाे छ ।

उपराष्ट्रपति पुनले  मुलुकको दिगो विकास, स्थायी शान्ति, संविधानको संरक्षण र पूर्ण पालन, राजनीतिक स्थायित्व तथा मुलुकको समृद्धिका लागि जिम्मेवार हुन माघेसंक्रान्तिले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएकाे छ ।

त्यस्तै प्रधानमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवाले माघी पर्व  सामाजिक सद्भावको उदाहरण भएको बताउनुभएकाे छ ।

माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभएकाे छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतीकका रूपमा उभिएको बताउनुभएकाे छ ।

थारु समुदायको माघी तथा मगर र अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा प्रचण्डले शुभकामना सन्देश मार्फत् यस्ताे बताउनुभएकाे हाे ।

उहाँले यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने पनि प्रचण्डले शुभकामना सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments