गण्डकी प्रदेश सभाकाे चौथो वार्षिकोत्सव सम्पन्न

गण्डकी प्रदेश सभाले शनिबार वार्षिकोत्सव मनाएको छ । प्रदेश सभा सचिवालयमा स्वास्थ्य मापदण्ड अनुसार सहभागी भएर बाँकीलाई जुममार्फत् समेटेर अन्तरक्रिया गरी दिवस मनाइएको हो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको ठीक मध्यभागमा रहेको गण्डकी प्रदेशले राज्य निर्माणका लागि ठूलो योगदान पु¥याएको स्मरण गर्नुभयाे । उहाँले गण्डकीले सम्पादन गर्नुपर्ने दायित्व जहिले पनि अब्बल रहनुपर्ने बताउनुभयाे ।

उहाँले अगाडि भन्नुभयाे, ‘प्रदेशले समेत संघको, केन्द्रको मुख ताकेको देखिएको छ, प्रदेशले शक्तिको प्रयोग गर्ने अभ्यास गर्ने हो, अधिकार प्रयोग गर्ने हो । तत्कालीन अञ्चलाधीश र बडाहाकिमको जस्तो व्यवहार अब देखिन नहुने बताउनुभयाे ।’

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकका ३ तहका सरकार स्थापनासँगै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताउनुभयाे ।

नागरिकले पनि सहजरुपमा नजिकैबाट सेवा पाएको भन्दै उनले प्रदेशले आफूलाई मजबुत गर्र्दै केन्द्रमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाको अन्त्य गरेको भनाइ राख्नुभयाे ।

उहाँले प्रदेश सभाले यो अवधिमा गरेको उपलब्धिको सरहाना गर्दै तर यसैमा चित्त बुझाएर नबस्न र अगाडि बढ्न आग्रह गर्नुभयाे । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभा अस्तित्वमा आएपछिका ४ वर्ष सफलतापूर्वक बितेका बताउनुभयाे । सबै सदस्यहरुको अनुभव प्रयोग गर्दै सरल तरिकाबाट प्रदेशको नामकरण र राजधानी घोषणा गरेर परिपक्वता देखाएको उहाँको भनाइ थियो ।
सभामुख नेत्रनाथ अधिकारीले शून्यबाट उठेर प्रदेश सभाले ४ वर्षको अवधिमा ठूलो उपलब्धि हासिल गरेको बताउनुभयाे ।

कार्यक्रममा संविधान सभा सदस्य खिमलाल देवकोटाले राज्य शक्तिको प्रयोग गर्ने भएकाले संघीयतलाई मलजल गर्नका लागि प्रदेश सभाले जति भूमिका निर्वाह गरेको त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयाे ।


प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले प्रदेश सभाले हालसम्म ५० वटा कानुन पारित गरेको भन्दै ती कानुनले नागरिकको हितमा कति काम गरेका छन् भनेर समीक्षा गरिनुपर्ने बेला अब आइसकेको भनाइ राख्नुभयाे । वार्षिकोत्सवका अवसरमा प्रकासन गरिएको स्मारिका उक्त अवसरमा विमोचन गरिएको छ ।

३ तहको निर्वाचन सकिएलगत्तै २०६४ माघ ७ गते प्रदेश सभा सदस्यहरुको सपथग्रहण भएको थियो भने माघ २२ मा पहिलो बैठक बसेको थियो । यस अवविधमा ८ अधिवेशन र २ वटा विशेष अधिवेशन भएका छन् ।

Facebook Comments