रावलकाे प्रधानमन्त्रीलाई जवाफः दिमाग खुस्केर हाे कि जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल ?
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अभिव्यक्तिकाे दिमाग खुस्केर हाे कि जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल भन्दै जवाफ फर्काउनुभएकाे छ ।
नुवाकोटमा भएकाे एक कार्यक्रममा देउवाले रावल मन्त्री भएकै बेलामा एमसीसी पास भएकाले अहिले रावलकाे दिमाग त खुस्केकाे छैन भन्दै विराेधकाे कुनै तुक नहुने बताउनुभएकाे थियाे ।
देउवाकाे अभिव्यक्तिकाे खण्डन गर्दै एमाले नेता रावलले देउवाकाे अभिव्यक्ति साँचाे नहुनुका साथै उदण्डपूर्ण र पदीय मर्यादाका विपरीत भएकाे जवाफ फर्काउनुभएकाे छ ।
‘प्रधानमन्त्री देउवाले भीम रावल रक्षामन्त्री भएको बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा ल्याएको, अहिले विरोध गरेर दुई जिब्रे कुरा गर्ने, त्यसबेला राजीनामा किन नगरेको, त्यसबेला ‘दिमाग खुस्केको थियो’ भनी नुवाकोटमा भन्नुभएछ। म केपी ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला उप प्रधानमंन्त्री र रक्षामन्त्री थिएँ। ओलीले एमसीसी सँगको सम्झौता संसदमा ल्याएको बेला होइन,’ रावलको दाबी गर्दै ट्वीटरमा लेख्नुभएकाे छ ।
सार्वजनिक तथ्यको जानकारी नराखी झुटा बोल्ने प्रधानमन्त्रीको ‘होस हराएको’ रावलले आरोप लगाउनुभएकाे छ ।
उहाँले अगाडि लेख्नुभएकाे छ, ‘आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल हुनुपर्छ ।’
देउवा महाकाली र कर्णालीमा देशघात गर्न नहच्किएको रावलको आरोप छ।


