स्थानीय तहकाे निर्वाचनः गठबन्धनमा सिट बाँडफाँडमा समस, दलभित्रै पनि आंकाक्षी धेरै
३० वैशाखमा हुने स्थानीय तहकाे चुनावमा तालमेलकाे सैद्धान्तिक सहमति गरेका दलहरूवीच भागबण्डा भने सकसपूर्ण हुने देखिएकाे छ । स्थानीय नेता कार्यकर्ताले केन्द्रबाट हुने तालमेलमा असन्तुष्टि जनाउँदै दबाब दिएकाले पनि सहमति जुटाउन सकम देखिएकाे हाे ।
मुख्य गरी महानगरपालिका तथा उपमहानगरपालिकाकाे नेतृत्व भागबण्डा गर्न कठिन भइरहेकाे छ । प्रायः सबै महानगरमा कांग्रेसका स्थानीय नेता कार्यकर्ताले चर्काे रूपमा नेतृत्व नछाड्नका लागि दबाव दिएका छन् ।
पछिल्लाे समय निकै पेचिलो मानिएको भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई छाड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक देखिएपनि अन्य नेताहरू भने मित्रवत प्रतिस्पर्धामा जान सकिने बताउँछन् ।
६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने गरी सत्तारुढ गठबन्धनले साेमबार छलफल गर्दैछन् ।
कतिपय जिल्लाहरूमा स्थानीय रूपमा नै छलफल गरी स्थानीय तहमा तालमेल नगर्ने एक्ला एक्लै चुनावमा जाने निर्णयमा दलहरू पुगेका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा पौडेल नेतृत्वको तयारी तथा अनुगमन संयन्त्रको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले स्थानीय निर्वाचनमा आआफ्नो दाबी पेश गरेका थिए ।
बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिका, उपमहानगरपालिकाहरूमा जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्वमा दावी गरेकाे थियाे ।
त्यस्तै एकीकृत समाजवादीका नेताहरुले पोखरा महानगरपालिकाको नेतृत्व आफ्नो दललाई दिनुपर्ने बताएका थिए । पोखरा महानगरसँगै इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरमा साे दलकाे दाबी थियाे ।
जसपाले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगपालिकाकाे नेतृत्वमा दावी गरेकाे छ । राष्ट्रिय जनमोर्चाले महानगरपालिका वा उपमहानगरपालिकाे कुनै एकमा उपमेयरकाे दाबी गरेकाे छ ।
कांग्रेस नेताहरुले भने कांग्रेसकाे मत धेरै भएकाे र धेरै मत थाेरै मत भएकाे पार्टीमा खसाउन गाह्राे हुने भन्दै महानगर र उपमहानगरकाे नेतृत्वमा कांग्रेसकाे दाबी पेश गरेका थिए ।
महामन्त्री गगनकुमार थापाले पार्टीका साथीहरुको मनोविज्ञान सुनाउँछु भन्दै एकाध महानगर वा उपमहानगरमा उपमेयर छाड्न तयार रहे पनि नेतृत्व दिने अवस्था नरहेको रिपाेर्टिङ गर्नुभएकाे थियाे ।
उम्मेदवार चयन गरेर निर्वाचनकाे प्रचारमा जुट्नुपर्नेमा दलहरू भने उम्मेदवार छनाैट तथा भागभण्डमा अल्मलिएका छन् । भागबण्डामा सहमति हुँदा पनि पार्टीभित्र धेरै जनाले उम्मेदवारी दाबी गरेका छन् । गठबन्धन हुँदा जितिने संभावना हुने भएकाले तथा पार्टीकाे अवस्था राम्राे भएका ठाउँमा दलहरूमा उम्मेदवार दाबी गर्नेकाे संख्या धेरै छ ।
पाेखरामा मात्रै कांग्रेसबाट १८, एमालेबाट १२, नेकपा एसबाट ६ जनाले मेयर पदका लागी दाबेदारी पेश गरेका छन् ।

