स्थानीय तह निर्वाचनः उम्मेदवारी ५ बजेभित्र दर्ता गर्नुपर्ने
गठबन्धनमा तालमेलका लागि सकस
बैशाख १० मा हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारी दर्ता आज साेमबार बेलुकी ५ बजेसम्म गर्न सकिने निर्वाचन आयाेगले जनाएकाे छ ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गरी दुइ दिन उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो।
आयाेगका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ।
निर्वाचनमा गठबन्धनका दलहरूवीच सहमति हुन बाँकी रहेकाले कांग्रेस, एमाले, माअाेवादी केन्द्र एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरूले साेमबार मात्रै उम्मेदवारी दर्ता गर्दैछन् ।
आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए। आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारी दर्ता गर्ने अधिकांश स्वतन्त्र उम्मेदवार तथा साना राजनीतिक दलका उम्मेदवार रहेका छन् ।
सत्तागठबन्धन र नेकपा एमालेसहित गठबन्धनबाट अधिकांश स्थानीय तहमा साेमबार मात्र उम्मेदवारी दिने तयारी छ।
सत्तारूढ नेपाली कांग्रेसले भने महानगर र उपमहानगरमा मेयर तथा उपमेयरका उम्मेदवार टुंगाे लगाएकाे छैन । टुंगाे लागेकाे स्थानमा समेत अन्य दलसँग सहमति कायम हुन नसक्दा सत्ता गठबन्धनका लागि तालमेल सकसपूर्ण बनिरहेकाे छ ।
पाेखरामा मेयर बाहेककाे पदमा गठबन्धन नगर्ने कांग्रेसकाे निर्णयपछि दलहरू चिढिएका छन् । राती अबेर केन्द्रका नेताहरूकाे दबावपछि तालमेल कायम राख्ने प्रयासमा रहेपनि सहमति हुन भने सकेको छैन।
बाराकाे जीतपुर सिमरामा पनि सत्ता गठबन्धनका दलहरूवीच फाटाे आएकाे छ । त्यस्तै गाेरखामा पनि कांग्रेसले एकलाैटी चुनावमा जाने निर्णय गरेकाे खबर छ ।
गठबन्धन भएका स्थानमा कांग्रेसका तर्फबाट असन्तुष्ट नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।
समग्रमा गठबन्धन गर्दा कांग्रेसले धेरै स्थानमा नेतृत्व लिए पनि कार्यकर्ता असन्तुष्ट बनेका छन् । अन्य दल भने नेतृत्व नै कम पाएका कारण झन् असन्तुष्ट देखिएका छन् ।

