स्थानीय तह निर्वाचन: दाङको घोराहीमा गठबन्धन र एमालवीच प्रतिस्पर्धा

दाङमा चुनावी सरगर्मी बढेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको सबैभन्दा ठूलो उपमहानगर पालिका दाङको घोराहीमा अहिले चुनावी सरगर्मी बढेको हो ।

चुनावी माहोल तातेसँगै मेयर र उपमेयर पद हात पार्न पाँच दलीय गठबन्धनका उम्मेदवार र एमालेका एकल उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।

घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले मेयरमा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा पोखरेल (डायमण्ड) र उपमेयरमा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीलाई अघि सारेको छ ।

एमालेले भने यसअघिकै मेयर नरुलाल चौधरीलाई मेयरमा दोहोर्‍याएको छ भने उपमेयरमा हुमा डिसीलाई अघि सारिएको छ ।
घोराहीमा यसअघिको निर्वाचनमा एमालेका नरुलाल चौधरीले नेपाली कांग्रेसका भूपबहादुर डाँगीलाई ४ हजार ५ सय ४६ मतान्तरले जित्नुभएका थियो ।

नरुलालले २२ हजार ३० मत ल्याउँदा भूपबहादुरले १७ हजार ४ सय ८४ मत आएको थियो । गएको निर्वाचनमा माओवादीका उम्मेदवारले १२ हजार ८२ मत थियो ।

नेपाली कांग्रेसका मेयरका उम्मेदवार भूपबहादुर डाँगी अहिले गठबन्धनवाट उपमेयरको उम्मेदवार बनेको र माओवादी, कांग्रेस र जनमोर्चासहितका दलले मेयरमा साझा उम्मेदवारका रुपमा हेमराज शर्मालाई अघि सारेकाले घोराहीमा गठबन्धन बलियो देखिएको हो ।

घोराहीमा मेयर पदमा गठबन्धन र एमाले बाहेक अन्य दलबाट समेत उम्मेदवारी परेको छ ।

नेकपा (एकीकृत समाजवादी) बाट रामप्रसाद चौधरी, राप्रपाबाट सरिता देवकोटा, मालेका नेत्रप्रसाद पाण्डेय, विवेकशील साझाका सूर्यप्रसाद पौडेल, मंगोल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस विपीका गोविन्द शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घराज भण्डारी, स्वतन्त्रवाट लिलाबहादुर पुनसहित १४ जनाले मेयर पदमा मनोनयन दिएका छन् ।

उपमेयरमा पनि नेकपा (एकीकृत समाजवादी)वाट शोभा शाह, मालेका राधिका क्षेत्री, मंगोल अर्गनाइजेसनवाट निर्मल थापा, विवेकशील साझा वाट लक्ष्मी जिएम, स्वतन्त्र बसन्तकुमारी भट्टराईसहित ८ जनाले मनोनयन दर्ता गराएका छन् ।

Facebook Comments