मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिने
निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ । मतदाता परिचयपत्र आफ्नाे नामावली भएकाे मतदान केन्द्रबाट लिन सकिन्छ ।
साथै देशभर बिहिबार पनि मतदाता शिक्षा कार्यक्रम चलाउने निर्वाचन आयाेगले जनाएकाे छ ।
नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण गरिएकाे जनाएकाे छ ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।
नयाँ मतदाताले मतदाता परिचयपत्र लिन सक्नेछन । मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचयपत्र नभएमा नागरिकता देखाएर पनि मतदान गर्न सक्नेछन् ।
यसपटक गठबन्धनले तालमेल गरेका कारण धेरै मत बदर हुने आशंका छ । यसअघि पनि ५ प्रतिशत जति मत बदर हुने गरेकाे थियाे ।

