उम्मेदवारी दिएकाे ठाउँमा जित्नुपर्छः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै ठाउँमा उम्मेदवारी दिने भन्दा पनि उम्मेदवारी दिएका ठाउँमा विजयी बन्नुपर्ने बताउनुभएकाे छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई पनि जनभावना अनुसार काम गर्न निर्देशन दिनुभएकाे छ ।

गत वैशाखमा भएको स्थानीय चुनावबाट निर्वाचित जिल्ला समन्वय समिति, पालिकाका प्रमुख उपप्रमुखहरूकाे प्रशिक्षण कार्यक्रममा देउवाले यस्ताे निर्देशन दिनुभएकाे हाे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका ३४ जना प्रमुख, २३ जना उपप्रमुख, १४१ जना मेयर, ११० जना उपमेयर, १८८ जना अध्यक्ष र १९० जना उपाध्यक्षकाे सहभागिता छ ।

कांग्रेसकाे केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरमा कार्यक्रम गरेकाे हाे ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशकाे निर्वाचनमा पनि गठबन्धन गरेर जाने बताउँदै उहाँले दलहरूविच केही दिनमा सिट बाँडफाँटमा सहमति हुने बताउनुभयाे ।

उहाँले धेरै क्षेत्रमा उम्मेदवारी दिनेतर्फ लाग्नुभन्दा पनि उम्मेदवारी दिएका ठाउँमा जित्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

पार्टीका नेता शेखर काेइराला समूहकाे असन्तुष्टिप्रति लक्षित गर्दै देउवाले उम्मेदवार चयन गर्दा न्यायोचित ढंगले गरिने बताउनुभयाे ।

Facebook Comments