भरतपुरमा विद्युत लाइन भूमिगत आयोजना शिलान्याश
चितवनको भरतपुरमा विद्युत लाइन भूमिगत गर्ने आयोजना शिलान्याश गरिएकाे छ । पाेखरा र भरतपुर वितरण प्रणाली आयोजना अन्तर्गत वितरणा प्रणाली भूमिगत एवं सुदृढीकरण कार्यकाे शनिबार शिलान्यास गरिएकाे हाे ।
भरतपुर महानगरपालिकाकाे पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गर्ने आयोजनाकाे पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार शिलान्यास गर्नुभएकाे हाे ।
विद्युत प्राधिकरणले पाेखरा र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा विद्युत लाइन भूमिगत गर्नका लागि ठेक्का लगाएकाे छ ।
पाेखरा र भरतपुरकाे विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडसँग४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँमा ठेक्का सम्झाैता गरेकाे छ ।
सन् २०२४ को जनवरी १९ भित्र सक्ने लक्ष्य राखिएको उक्त आयोजनामा नेपाल सरकार, विद्युत प्राधिकरणको संयुक्त लगानी तथा एसियाली विकास बैंकको ऋण सहयोग रहेकाे छ ।
शिलान्याश कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भरतपुर र चितवन जिल्लाकाे समग्र विकासका विभिन्न परियाेजना मार्फत् जनताकाे आवश्यकता सम्बाेधनका लागि यस आयोजनाले सहयाेग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण गर्दा जनधनकाे सुरक्षा एवं विद्युत आपूर्ति समेत सहज हुने उहाँकाे भनाइ थियाे ।

