गौरा पर्व मनाइँदै
सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व गाैरा पर्वे पश्चिम नेपालमा धुमधामका साथ मनाइँदैछ। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्ण षष्ठी देखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।
गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्।
गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गाैरीकाे पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।
बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग लगायतका बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँने गर्दछन् ।
धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ।
गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर मनाेरन्जन गर्ने प्रचलन छ ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहेकाे छ।
यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवं विसंगतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएकाे छ ।
गौरा पर्व २०७९ का अवसरमा एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएकाे हाे ।

