आम निर्वाचन २०७९ः प्रत्यक्षतर्फकाे उम्मेदवारी दर्ता आज

आगामी मंसिर ४ गते एकै चरणमा हुने आम निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फकाे उम्मेदवारी दर्ता आज हुँदैछ । निर्वाचन आयाेगले प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताका लागि आज एक दिनकाे समय ताेकेकाे छ ।

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने छ । आयाेगले देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ ।

उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत् पनि उम्मेदवारी दिन सक्नेछन् ।

आज मनाेनयन दर्ता भएका उम्मदेवारहरूकाे विराेधमा २४ असोजमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते उम्मेदवारकाे नामावली प्रकाशन हुने आयाेगले जनाएकाे छ ।

२६ असोजमा उम्मेदवारले नाम फिर्ताकाे समय पाउने र साेही दिन अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न प्रदान गर्ने आयोगको तयारी छ ।

निर्वाचन आयोगले असाेज २ गते बुझाइएकाे समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्द सूचीकाे अन्तिम नामावली सार्वजनिक गरिसकेकाे छ ।

Facebook Comments