नेपाल वायुसेवा निगम दिल्ली उडान नहुँदा यात्रु अलपत्र

नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) को चेक-इन काउन्टरमा दिल्ली उडानको ‘बोर्डिङ’ पास दिइए पनि उडान तालिका नै नरहेकोले उडान रद्द भएकाे छ ।

‘आरए २१७’ वाइडबडी विमानमार्फत दिल्ली जान कतिपय यात्रु अध्यागमन र सुरक्षा जाँच पार गरेर प्रतीक्षा कक्षसम्म पुगिसकेका भएपनि उडान नहुने भएपछि अलपत्र परेका थिए ।

नेपाल एयरलाइन्सको चेक-इन काउन्टरबाट ७३ जनाले बोर्डिङ पास लिइसकेपछि उडान तत्काल नहुने भन्दै काउन्टर बन्द गरिएकाे थियाे ।

उडान तालिका बारे नेपाल एयरलाइन्सका कर्मचारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका कारण यस्ताे भएकाे भन्दै पन्छने काेशिष गरे । यद्यपि प्राधिकरणले भने १० दिन अगाडि नै उडान तालिका कटाैतिबारे जानकारी दिएकाे बताएकाे छ ।

प्राधिकरण र एअरलाइन्सवीचकाे समन्वय नहुँदा टिकट काटेर बाेर्डिङ पास पाएपछि समेत फर्कनुपरेपछि यात्रुकाे भने विचल्ली भएकाे छ । अर्जेन्ट काम भएर दिल्ली भएर तेस्राे मुलुक जान लागेका यात्रु थप मारमा परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत तालिकाअनुसार नै उडान कटौती गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएकाे छ । विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार अनुसार ३० अक्टोबर २०२२ -आज) देखि २५ मार्च २०२३ सम्मका लागि ‘विन्टर सिजन’को उडान तालिका तय भएको छ । जसमा नेपाल एयरलाइन्सले एउटा उडान भैरहवास्थित गाैतमबुद्ध विमानस्थलबाट गर्नुपर्नेमा साे तालिका समावेश नगरेका कारण हप्तामा ४ वटा उडान कटाैति भएकाे हाे ।

नेपाल उड्डयन प्राधिकरणले भैरहवाबट सेड्युल नराखेका कारण हप्तामा १४ वटा दिल्ली उडान गरिरहेको नेपाल एयरलाइन्सको उडान १० वटामा सीमित गरिदिएकाे हाे । प्राधिकरणले काठमाण्डाैबाट हप्तामा ३ वटा भन्दा बढी उडान गर्ने विमान कम्पनीहरूले कम्तीमा एउटा उडान भैरहवाबाट गर्नुपर्ने नियम बनाएकाे छ ।

Facebook Comments