शिक्षक मर्यादाक्रमको फाइल अघि बढेको छ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेका बताउनुभएको छ ।
शनिबार गलकोट र बुर्तिबाङमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तरक्रिया कार्यक्रममा उहाँले संघीय शिक्षा ऐन विद्यायन समितिमा पुगेको भन्दै त्यो सरकारको सम्पत्तिको रुपमा रहेको बताउनुभयो ।
उहाँले शिक्षकको मर्यादाक्रमको फाइल अघि बढाएको बताउँदै गृह मन्त्रालयसँग समन्व्य गरी चाँडै टुंग्याइने जानकारी दिनुभयो । “शिक्षकको तलब सुविधा र मर्यादाक्रमको विषयमा पहल भइरहेको छ,” उहाँले भन्नुभयो, “सरकारको शुन्य लागतमा मर्यादाक्रमको फाइल गृहमन्त्रालयसँग समन्व्य गरी टुंग्याउने चरणमा छौं ।”
शिक्षा मन्त्रालय तीन प्रकारको सुधारमा केन्द्रीत रहेको बताउँदै नीगित, कानुनी र शिक्षण सिकाई सुधार मुख्य रहेको बताउनुभयो । “नीतिगत र कानुनी सुधार सरकारले गर्ने हो,” उहाँले भन्नुभयो, “शिक्षण सिकाई सुधार गर्ने काम शिक्षकको हो ।”
१० वर्षे विद्यालय सुधार योजना कार्यक्रम अघि बढेको बताउँदै निर्वाचनपछि हाल विद्यालयमा रहेका शिक्षकलाई व्यवस्थापन गर्ने गरी नयाँ शिक्षक पठाइने बताउनुभयो ।
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उहाँको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्याएको बताउनुभयो ।
शिक्षक सेवा आयोगको ११ औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लिएको उहाँको भनाइ छ ।
मन्त्री पौडेलले शिक्षक महासंघका ५१ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताउनुभयो ।
विद्यालय समायोजनको प्रकृया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयहरुको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उहाँको भनाइ छ ।
मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले गलकोट र ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने गरी निर्णय भएको समेत बताउनुभयो ।
संविधानमा माध्यमिक तहको शिक्षा नि:शुल्क भनेपनि विस्तारै कार्यान्वयन चरणमा रहेको बताउँदै कक्षा ६ सम्म दिवा खाजाका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो ।

