विपक्षीले रोक्ने कसरत गर्दा पनि बाटोको योजना पर्यो, अब सम्पन्न गर्ने जिम्मा: बराल
कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गर्नुभएकाे छ ।
बरालले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको समेत उल्लेख गर्नुभएकाे छ ।
माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भन्नुभयाे, ‘हामीले यो बाटो ल्याउन पहल गर्यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उहाँले अगाडी थप्नुभयाे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो ।’
बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयाे । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना शुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बरालकाे भनाइ थियाे ।
उहाँले भौतिक निर्माण सँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी हुने भएकोले आफुहरुको ध्यान त्यसतर्फ पनि समान रुपले गएको बताउनुभयाे । यसका साथै पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती पनि रहेको बरालकाे भनाई थियो ।

