समानुपातिकतर्फकाे सांसद चयन गर्न पत्राचार गरिंदै

निर्वाचन आयोगले समानुपातिक तर्फकाे मतगणना सम्पन्न भएकाे जनाएकाे छ ।

आयोगले बुधबार नै जिल्लाबाट प्राप्त मतगणना परिणाम रूजु गरेर दलहरूले प्राप्त गर्ने सिट बाँडफाँड गरी सांसद चयन लागि सम्बन्धित दललाइ पत्राचार गर्ने तयारी गरेकाे छ ।

अहिलेसम्मकाे मतगणनाकाे परिणाम अनुसार प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फ ७ वटा दलले मात्र थ्रेसहाेल्ड कटाएका छन् । समानुपातिक पद्धतिबाट चयन हुने ११० सांसद मध्ये दलहरूले पाउने सिट संख्या टुंगाे लागेपछि दलहरूले समानुपातिक समावेशी रूपमा महिला, दलित, जनजाति, खस आर्य, अल्पसंख्यक लगायतकाे प्रतिनिधित्व हुने गरी यसअघि निर्वाचन आयाेगमा पेश गरिएकाे समानुपातिक तर्फकाे बन्दसूचीबाट सांसद चयन गरेर पठाउनुपर्ने हुन्छ ।

निर्वाचन आयाेगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ र नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएर समानुपातिक तर्फ दाेस्राे दल बनेकाे छ ।

कांग्रेसले समानुपातिक तर्फ यसअनुसार उसले ३२ सिट पाउने छ । प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेस ८९ सांसदका साथ प्रतिनिधिसभाको पहिलो दल बनेको छ । समानुपातिक तर्फ एमालेले ३४ सिट पाउनेछ । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमाले ७८ सांसदसहित प्रतिनिधिसभाको दोस्रो दल बनेको छ ।

माओवादी केन्द्र समानुपातिकमा पनि तेस्रो दल बनेको छ । उसले ११ लाख ७५ हजार ६८४ मत पाएको छ र, १४ सिट पाउनेछ । प्रत्यक्षतर्फ उसले १८ सिट जितेको छ । दुबै जोड्दा उसको ३२ सिट पुग्छ ।

यसअघिका निर्वाचनमा सहभागी दलहरूकाे मत समानुपातिकतर्फ उल्लेख्य रूपमा घटेकाे छ । ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपामा सरेकाे परिणामले देखाएकाे छ ।

यसै निर्वाचनमा पहिलाेपटक सहभागी भएकाे रवि लामिछाने नेतृत्वकाे रास्वपाले प्रत्यक्षतर्फ ७ सिट र समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएर १३ सिट गरी प्रतिनिधिसभामा २० सदस्यीय दल बन्ने भएकाे छ । राप्रपाले ७ सिट प्रत्यक्ष र ७ सिट समानुपातिक तर्फ पाउने भएकाे छ । यसरी राप्रपा प्रतिनिधसभामा १४ सांसद सहित पाँचाैदल हुने भएकाे छ ।

राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ जबकि अघिल्लाे निर्वाचनमा थ्रेसहाेल्ड कटाउन सकेकाे थिएन । छैंठाै दलमा जसपाले ७ प्रत्यक्ष र ५ समानुपातिक पाउने भएकाे छ । त्यस्तै सिके राउतकाे पार्टीले १ सिट प्रत्यक्ष र ५ सिट समानुपातिकबाट प्राप्त गर्ने भएकाे छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा), एमालेबाट फुटेर बनेकाे माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी, कमल थापा नेतृत्वकाे राप्रपा नेपाल, नेपाल मजदुर किसान पार्टी लगायतका दल भने थ्रेस हाेल्ड कटाउन असफल रहे ।

Facebook Comments