गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालद्वारा पद तथा गाेपनीयताकाे सपथ

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद मित्रलाल बस्याललाई बुधबार पूर्वाह्न ११ बजे पद तथा गोपनीयताको सपथ खुवाउनुभएकाे हाे ।

प्रदेश सभा सदस्य मध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम पद तथा गोपनीयताको सपथ खुवाउनुपर्ने प्रावधान रहेको छ ।

ज्येष्ठ सदस्यको हैसियतमा सपथ लिएका बस्यालले अन्य प्रदेश सभा सदस्यहरुलाई विहीबार पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम तय भएकाे छ । सपथका लागि प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा भवन नदीपुरमा विहीबार दिउँसो १ बजे बोलाइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेका छन्।

Facebook Comments