आगलागीमा परी कास्कीमा पूर्व वडाअध्यक्षकाे निधन
आइतबार राति घरमा भएको आगलागीमा परेर कास्कीका मादी गाउँपालिका वडा नं. १ का पूर्व अध्यक्षको मृत्यु भएको छ।
मादी गाउँपालिका–१ सिक्लेसका निवर्तमान वडाध्यक्ष ७१ वर्षीय सुरज कुमार गुरुङ आगलागीमा परेर निधन भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काका अनुसार गुरूङकाे सिक्लेस धाप्राङस्थित घरमा आइतबार राती करिब पौने नाै बजेको समयमा आगलागी सुरु भएको थियो।
आगलागी कसरी सुरु भएको भन्ने बारेमा केही पनि नखुलेको तथा राति नै घटनास्थलमा पुगेको प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको जनाएकाे छ ।
तर बिद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशङ्का स्थानीयबासीकाे छ । आगलागीबाट सुरजकुमार गुरुङको ढुंगोमाटोले बनेको टिनले छाएको दुई तले घर र टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ ।

