प्रतिनिधिसभा बैठकः सभामुख चयन हुने

संघीय संसद अन्तर्गत पतिनिधिसभाकाे बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनकाे कार्यतालिका तय भएकाे छ ।

संघीय संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सभामुख चयनका लागि मतदानसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।

बुधबार नै सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेकाे उम्मेदवारी दर्ता भइसकेकाे छ ।

प्रतिनिधि सभा सदस्यहरूले आफूमध्येबाट सभामुख चयन गर्ने व्यवस्था छ। अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहनुभएकाे छ ।

एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन्। सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ। 

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन पाएमा सभामुख चयन हुनेछन्।

Facebook Comments