प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूप्रति प्रधानमन्त्रीकाे उच्च सम्मान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रजातन्त्रिक आन्दोलनका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएकाे छ ।
७३ औं प्रजातन्त्र दिवसको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले याेद्धाहरूप्रति सम्मान व्यक्त गर्नुभएकाे हाे ।
‘आजको यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दुछ’, प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा भनिएकाे छ ।
शुभकामना सन्देशमा नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उल्लेख गर्दै आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२।०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको जनाइएकाे छ ।
तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुने प्रधानमन्त्रीकाे धारणा छ ।
प्रधानमन्त्रीले वर्तमान सरकारकाे तर्फबाट सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ ।
२००७ साल फागुन ७ मा १०४ वर्षीय जहाँनीया राणा शासनकाे अन्त्य भइ प्रजातन्त्र स्थापना भएकाे थियाे । साेही दिनकाे स्मरणमा हरेक बर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

