द्वन्द्वकालीन मुद्दाका बिषयमा माओवादी धारका नेताहरुवीच छलफल
जनयुद्धका बेला एक ठाउँमा रहेका तर शान्ति प्रक्रियापछि टुटफुट भएका माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे छ ।
उक्त जनयुद्धका बेला भएका घटनाहरू नियमित प्रक्रियाबाट नभइ सत्य निरूपण तथा बेपत्ता छानविन आयाेग मार्फत् हल गर्नुपर्ने माओवादी धारका नेताहरुको धारणा छ । तर सर्वाेच्च अदालतले संक्रमणकालीन समयका घटनाका सन्दर्भमा समेत अनन्तकालसम्म न्यायिक प्रक्रिया राेक्न नमिल्ने फैसला गरेकाे छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध द्वन्द्वकालीन घटनाको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पूर्व माओवादी नेताहरु छलफलमा जुटेका हुन् ।
तत्काल पार्टी एकता सम्भव नभए पनि कार्यगत एकता गर्नेबारेमा भने एकमत हुने बुझिएकाे छ । यसअघि काठमाण्डाैमा भएकाे एक कार्यक्रममा सहभागी माओवादी धारका नेताहरुले माओवादीलाई हेप्न थालिएकाले एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका थिए ।
सर्वाेच्च अदालतले प्रधानमन्त्री प्रचण्ड २ वर्ष अगाडि एक सार्वजनिक कार्यक्रममा सार्वजनिक गर्नुभएकाे धारणाकाे बिषयमा यसअघि दरपिठ भएमाे निवेदन दर्ता गर्न आदेश दिएसँगै माओवादी धारका नेताहरू आक्राेशित बनेका छन् ।


