नयाँ वर्षका अवसरमा फेवा नव महोत्सव हुने

नयाँ वर्ष शुरूवातका अवसरमा यही चैत २९ गतेबाट बैशाख १ गतेसम्म पाेखरामा फेवा नव वर्ष महोत्सव हुनेछ ।

महाेत्सवमा सहभागीकाे सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् ।

आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशिल भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखेका हुन् ।

यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए ।

कर्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष विष्णुवहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महंगो शुल्क असुल्दा गलत सन्देश गएको अनुभव सुनाउनुभयाे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्राण्डकै रुपमा स्थापित भइसकेको बताउँदै यसलाई अझै परिस्कृति र वृहत ब्राण्डिङ गरेर अगाडि बढ्नुपर्ने सुझाव राख्नुभयाे ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने आबश्यकता औंल्याउनुभयाे ।

उहाँले संघ अन्तर्गतका होटलहरुले कोठाको मुल्यमा विगतमा जस्तै २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी दिनुभयाे । रेवान पोखरासँग सहकार्य गरेर नै आफूहरुले महोत्सवलाई अगाडि बढाउन लागेको उहाँकाे भनाइ छ ।

खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिएर पर्यटन प्रवर्द्धन गर्ने तथा कोभिड– १९ बाट अफ्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य महोत्सवले लिएको छ।

पृथ्वी राजमार्गको जारी स्तरोन्नती कार्य र केही महिना अघि पोखरामा भएका जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी निकै घटेको व्यवसायीहरूले जनाएका छन् । महाेत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको र सांस्कृतिक कार्यक्रम, झाँकी र र्याली लगायत समावेश छन् ।

Facebook Comments