५ बुँदे सहमतिपछि मिटरब्याज पीडितकाे आन्दोलन फिर्ता
सरकारसँग सहमति भएपछि मिटरब्याज पीडितकाे आन्दोलन फिर्ता भएकाे छ ।
शनिबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे उपस्थितिमा सरकारी वार्ता टाेली र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको थियाे ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने, हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा समिति बनाएर अनुसन्धानमा सहजीकरण गर्ने लगायतका बुँदा सहमतिमा उल्लेख छ ।
साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै सर्लाही, महाेत्तरी, सिराहा लगायतका जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएर एउटा टोलीले प्रदर्शन गर्दै आएको थियो ।
पीडितहरूले शनिबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवासमा नै भेटेर समस्या राखेका थिए । साे अवसरमा प्रधानमन्त्रीले मिटरव्याज पीडितकाे समस्याको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाउनुभएकाे थियाे ।
यसअघि नवलपरासी जिल्लाका मिटरब्याज पीडितले पनि काठमाण्डाैमा लामाे समय संघर्ष गरेका थिए ।

